मोरङको केराबारी आफैंमा चिरपरिचित गा.पा हो । भौगोलिक आधारमा तीन चिरामा विभाजित यस गा.पा.को आ आनै विशेषता छ । त्यसमा पनि केराबारी गा.पा.–७ डाँगीको आफ्नै गरिमामय इतिहास छ ।
यस ठाउँलाई डाँगी नामाकरण कसरी गरियो भन्दा कुनै ऐतिहासिक शिलालेख नभएतापनि केराबारी गा.पा.का सबैभन्दा ज्येष्ठ नागरिक रहनुभएका र समाजको जिउँदो इतिहास बोक्नु भएका १०५ वर्षीय श्री अडिमर्दन थापाको भनाइ अनुसार वि.सं. १९५० मा यस क्षेत्रमा ठूलो घनाजङ्गल चारकोशे झाडी थियो । तत्कालीन समयमा मेहरमान डाँगी नामका एक व्यक्तिले पहिलो पटक यस ठाउँमा आई जङ्गल ढालफाँड गरी बसोबास गरेका कारण यस ठाउँको नाम मेहरमान डाँगी रहन गएको हो । पछिल्लो समयमा सरकारी कामकाज र बोलीचालीको रुपमा डाँगी शब्द मात्र प्रचारमा रहेको पाइन्छ ।
यस ठाउँमा पहिले औलोका कारणले गर्दा कम मात्रामा मानव बस्ती रहेको थियो । जब पछि औलो नियन्त्रण भयो, त्यसपछि यहाँ बिस्तारै धनकुटा जिल्लाका डाँडाबजार, राजारानी, मौनाबुधुक र ओख्रेबाट बढी मात्रामा बसाँइ सरी आउने सङ्ख्या बढ्दै गयो । यस ठाउँमा मगर, क्षेत्री, ब्राह्मण र गिरी थरका मानिसको बाहुल्यता रहेको छ । अन्य जातिहरूमा राई, लिम्बू, तामाङ, परियार, विश्वकर्माको पनि बसोबास रहेको छ । यहाँ बहुजाति, बहुभाषिक र बहुधार्मिक समुदायको बसोबास रहेको छ ।
यसरी बस्ती विस्तार हुने क्रमसँगै वि.सं. २०१८ सालमा सीतादेवी ठाडामगरले आफ्ना पति स्व. कृष्णबहादुर ठाडामगरको स्मृतिमा बाटो हिँड्ने बटुवाका लागि राती बास बस्न सजिलो होस् भनी हाल विद्यालय भवन रहेको ठाउँमा २ कोठा भएको पाटी पौवा निर्माण गर्नुभएको थियो । त्यो बेलाको समयमा पाटी पौवा निर्माण गर्ने व्यक्तिको ठूलो गुनगान हुने र समाजसेवीको रुपमा गाउँघरमा पहिचान हुन्थ्यो । यो समाजमा सामाजिक प्रतिष्ठा भएका व्यक्तिहरूमध्येबाट समाजको नेतृत्व गर्ने समाजसेवी श्री जगतबहादुर घिमिरेको अगुवाइमा स्व. सीतादेवी ठाडामगरको सल्लाह र सहयोग लिई ३ कट्ठा जग्गामा रहेको २ कोठे पाटीपौवालाई विद्यालयमारुपान्तरण गरी वि.सं. २०२२ साल माघ १३ गतेका दिन शिक्षाको उज्यालो बत्ती बाल्दै पहिलो पटक शिक्षाको बिगुल फुक्ने काम भएको थियो । यस क्षेत्रको विकास, समाजको चेतनाको स्तर माथि उठाउनको लागि यस विद्यालयकोे इतिहासको जग बसेको हो ।
सर्वप्रथम वि.स. २०२२ साल माघ १३ गते का दिन यस विद्यालय जगत प्रकाशिनि प्राइमरी स्कुलबाट स्थापना भई वि.स २०६८ साल श्रावण देखि १०+२ सञ्चालन गर्दासम्म यस विद्यालयले विभिन्न आरोह अवरोह पार गरेको छ ।
श्री सार्वजनिक उच्च मा.वि.को ऐतिहासिक पृष्ठभूमिलाई केलाउँदा कोशी अञ्चल, मोरङ जिल्ला, केराबारी गा.वि.स. वडा नं. ६ मा अवस्थित यो विद्यालय वि.सं. २०२२ साल माघ १३ गतेका दिन तत्कालिन श्री जगत प्रकाशनि प्राइमरी स्कूलको नामबाट तत्कालिन केराबारी गाउँ पञ्चालय वडा नं. ६ निवासी श्रीमती सीतादेवी ठाडामगरले आफ्ना स्वर्गीय पति कृष्णबहादुर ठाडामगरको पुण्य स्मृतिमा २ विगाह जग्गा र धर्मशालाको रुपमा रहेको २ कोठे भवन निःशुल्क प्रदान गरेर यस समाजमा शिक्षाको ज्योति छर्ने पवित्र कार्यको थालनी गरेको पाइन्छ । तत्कालिन अवस्थामा विद्यालयकोे आर्थिक स्थिति जुटाउने क्रममा वडा नं. ६,७ र ८ का जनताहरुबाट आफूले दिन चाहेको जग्गाबाट नगद जम्मा गरी सो रकमबाट २ विघाह १२६ कट्ठा १४ धुर जग्गा खरीद गरिएको कुरा अभिलेखमा देखिन्छ । त्यसैगरी वि.सं. २०३५ साल फाल्गुन ७ गते तत्कालिन केराबारी गाउँ पञ्चायत वडा नं. ६ निवासी श्री पदमबहादुर मिरिङ्चिङ मगरज्यूबाट ५ कट्ठा ६ धुर जग्गा विद्यालयलाई निःशुल्क प्रदान गरिएको कुरा अभिलेखमाा देखिन्छ । त्यसका साथै तत्कालिन केराबारी गाउँ पञ्चायतबाट पनि अनुदान स्वरुप प्राप्त भएको कुरा अभिलेखमा देखिन आउँदछ ।
तत्कालिन विद्यालय संस्थापक अध्यक्ष श्री जगतबहादुर घिमिरे एवम् संस्थापक सदस्यहरु श्री वृजबहाद राई, श्री हर्कबहादुर राना मगर, श्री तिलकबहादुर भण्डारी, श्री गम्भिरबहादुर थापा, श्री खड्गबहादुर बस्नेत, श्री पदमबहादुर बस्नेत, श्री टिकाप्रसाद सुवेदी र संस्थापक प्र.अ.÷शिक्षक एमणि अधिकारीको साथै केराबारी ६,७,८ का बुद्धिजीवि, शिक्षाप्रेमी तथा सम्पूर्ण अभिभावकहरुको संयुक्त प्रयासमा विद्यालयकोे पठनपाठन वि.सं २०२२ साल माघ १३ गते १३ जना विद्यार्थीहरुलार्ई भेला गराई शिक्षा प्रारम्भ गराइएको कुरा इतिहासमा देखिन्छ ।
विद्यालयकोे संस्थागत विकासको क्रममा वि.सं. २०२७ साल माघ २२ गतेदेखि यस विद्यालयमा कक्षा ६ र ७ पठनपाठन गर्ने गरी श्री सार्वजनिक नि.मा.वि.को रुमपमा विद्यालयकोे नामाकरण गरी कक्षा सञ्चालन गर्ने तयारी सँगै मिति २०२९।०८।२६ गते जिल्ला शिक्षा कार्यालय, मोरङबाट सञ्चालन स्वीकृति लिई २०२९।०९।०१ गते जगत प्रकाशनि प्राइमरी स्कूल र सार्वजनिक नि.मा.वि. लाई एउटै नाम श्री सार्वजनिक नि.मा.वि. नामाकरण गरी सञ्चालनमा ल्याइएको अभिलेखमा देखिन्छ । त्यस्तै गरी वि.सं. २०३२।०७।०२ गते विद्यालय कक्षा ६ र ७ स्वीकृति, मिति २०५०।११।२९ मा कक्षा ८, २०५१।११।२२ मा कक्षा ९, २०५२।०९।१३ मा कक्षा १० जिल्ला शिक्षा कार्यालय मोरङबाट सञ्चालन अनुमति लिई र मिति २०६८।०४।१ १६ गतेदेखि उच्च मा.वि. तह कक्षा ११ र १२ (शिक्षाशास्त्र र व्यवस्थापन सङ्काय) सञ्चालन गर्नका लागि उच्च माध्यमिक शिक्षा परिषद्बाट अस्थायी सम्बन्धन प्राप्त गरी सञ्चालनमा रहेको छ ।
एकजना शिक्षक र १३ जना विद्यार्थी २ कोठा भवन विद्यालयकोे सम्पत्ति हुँदा शुरुआत भएको विद्यालयले हाल उच्च मा.वि. को रुपमा ६ भवनसहित जम्मा २० कोठा, विद्यार्थी सङ्ख्या ७३७ जना अध्ययनरत छन् भने शिक्षक १९ जना , कर्मचारी २ जना गरी जम्मा २१ जना कार्यरत छन् । यस विद्यालयकोे नाममा जम्मा ५ बिगाहा १ कट्ठा १३ धुर जग्गा रहेको, शौचालय, खानेपानी, खेलमैदान र पुस्तकालय निर्माण भइसक्दा पनि अपर्याप्त रहेको महसुस गरी भौतिक विकास, शैक्षिक गुणस्तरको विकासका लागि यस विद्यालयकोे स्वर्ण महोत्सव औपचारिक रुपमा मात्र मनाउने होइन, स्वर्ण महोत्सवको अवसरमा भावी पुस्ताका लागि स्वर्णीम कार्य गर्न शिक्षाप्रेमीहरूका लागि अवसर आएको छ । यो एउटा कोसेढुङ्गा हुने आशा गरिएको छ ।
विद्यालयकोे स्थापना र क्रमिक विकासमा विद्यालयको संस्थापक अध्यक्ष श्री जगत बहादुर घिमिरे, सदस्यहरूमा क्रमशः स्व. टिकाप्रसाद सुवेदी, स्व. बृजबहादुर राई, स्व. खड्गबहादुर बस्नेत, स्व. गम्भीरबहादुर थापा, स्व. तिलकबहादुर भण्डारी, हर्कबहादुर रानामगर, पदमबहादुर बस्नेत र सदस्य सचिव एमणि अधिकारी र जग्गादाताहरू स्व. सीतादेवी ठाडामगर र स्व. पदमबहादुर मिरिङ्चिङ् मगरले यस विद्यालयकोे स्थापनाको समयदेखि हुर्काउने, फलाउने, फुलाउने कार्यमा तन, मन, धन दिएर त्याग, तपस्या र सङ्घर्ष गर्नुभएको छ ।
विद्यालयकोे स्थापना गर्नुभन्दा सञ्चालन गर्नु निकै कठिन थियो । त्यो बेलाको समयमा शिक्षक खोजेर ल्याउनु पथ्र्यो । शिक्षकलाई तलब भत्ता व्यवस्थापन समितिबाट ४÷५ वर्ष सम्म गाउँघरबाट चन्दा उठाएर दिनुपथ्र्यो । यसरी संस्थापक सदस्य, जग्गादाता, चन्दादाताबाट शिक्षाको उज्यालो बत्ती बालेर समाजको अज्ञानरुपी अन्धकारलाई हटाउनु भएको छ । त्यसकै परिणाम अनुसार आज हामीले, यो समयमा ऐतिहासिक गरिमामय स्वर्णमहोत्सव मनाउन पाएका छौं ।
यस विद्यालयले स्थापना कालको ५० वर्ष पूरा गरी स्वर्ण महोत्सवको अवसरमा २ बिघाहा जग्गा दान दिने स्व. सीतादेवी ठाडामगरको विद्यालय प्राङ्गणमा अर्धकदको शालिक राख्ने काम भएको छ , वहाँको जन्म वि.सं. १९७८ मङ्सिर १५ गते र स्वर्गारोहण मिति २०५० मङ्सिर १५ गते भएको हो । एउटा निरक्षर महिलाले आफूले पढ्न लेख्न नपाएपनि। यस ठाउँका नानीहरूले पढ्न लेख्न पाउन् भनी विद्यालयकोे परिकल्पना गरी २ कोठे भवन निर्माणसहित दान दिनु भएको छ । यी आदरणीय महानुभावप्रति यो समाजले उच्च आदर व्यक्त गर्नुपर्दछ । यस विद्यालयलाई संस्थागत रुपमा संरक्षण र दिगो विकासका लागि तन, मन र धन दिएर आफ्नो जीवन उत्सर्ग गर्ने संस्थापक सदस्यहरू, जग्गादाताहरू र आदरणीय गुरु विष्णुदत्त बरालप्रतिको सम्मानमा विद्यालय सदैव समर्पित रहनेछ ।
सार्वजनिक उच्च मा.वि.को गरिमा र प्रतिष्ठालाई उँचो बनाउन ५० वर्षसम्म सफलताका साथ विद्यालय सञ्चालन भएको अवसरमा स्वर्ण महोत्सव मनाउनका लागि २०७१ मङ्सिर ११ गते स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी अभिभावक र नागरिक समाजका प्रतिनिधिहरूलाई विद्यालयको प्र.अ. श्री रुद्रबहादुर कार्कीको अगुवाइमा २०७१ मङ्सिर १ गते नै विद्यालयकोे प्राङ्गणमा बसेको भेलाको निर्णय अनुसार सर्वसम्मतरुपमा श्री पूर्णप्रकाश पूर्वछाने मगरको संयोजकत्वमा ४६ जनाको स्वर्णमहोत्सव मूल समारोह समिति गठन गरी ‘समुन्नत शिक्षाको पक्षमा स्वर्णमहोत्सव’ मूलनारा तय गरी २०७१ माघ १३ गतेदेखि १९ गतेसम्म स्प्ताहव्यापी स्वर्णमहोत्सव भव्य र सभ्य रुपमा मनाउने कार्यक्रम अघि सारियो ।
यसरी स्वर्ण महोत्सव समारोह मनाइ रहँदा शिक्षण संस्थाका लागि सिङ्गो समाज कति सचेत, जागरुक र जिम्मेवार छ भन्ने कुरा विद्यालयकोे स्वर्णमहोत्सव समारोहमा देखिएको उपस्थिति, सक्रिय सहभागिता सद्भाव र आर्थिक सहयोगले स्पष्ट पारेको छ । वहाँहरू सबैको योगदानको प्रशंसा जुनसुकै शब्दले गरेपनि अपूर्ण हुन जान्छ ।